स्वर्ण जयन्ती मनाउन मगर गाउँ माविलाई कोन्ज्योसोम गापाले दियो १२ लाख

Share:

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शङ्खुमा रहेको श्री मगर गाउँ माध्यमिक विद्यालय (कृषि प्राविधिक शिक्षालय) ले फागुन १८, १९ र २० गते स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ ।

आफ्नो स्थापनाको ५० ओैं वर्षमा विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउन लागेको हो ।

विद्यालयले एक बृहत् अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षक, पूर्व विद्यार्थी, विद्यार्थी सहभागी भेलाले विद्यालयको स्वर्ण जयन्ती महोत्सव मनाउने निर्णय गरेको हो ।

स्वर्ण जयन्ती महोत्सवको लागि विद्यालयले पुस २७ गते भेला आयोजना गरेको थियो ।

भेलाबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार लामाको संयोजकत्वमा ५०५ सदस्यीय स्वर्ण जयन्ती मुल समारोह समिति बनाउने निर्णय भएको छ।

५०५ सदस्यीय स्वर्ण जयन्ती मुल समारोह समितिबाट विविध विधा र क्षेत्रबाट बढीमा ५१ सदस्यसम्म रहन सक्नेगरी सचिवालय समिति बनाई स्वर्ण जयन्ती महोत्सव कार्यक्रम कार्य अगाडि बढाउन भेलाबाट निर्णय गरेको छ।

स्वर्ण जयन्ती महोत्सवका लागि सचिवालयले विभिन्न उप–समितिहरु बनाएको छ। उपसमितिहरुमा राजेश घिमिरेको संयोजकत्वमा प्रकाशन उप–समिति , अमृत संजेलको संयोजकत्वमा सूचना सञ्चार तथा प्रचारप्रसार उप–समिति , कविन्द्रकुमार लामाको संयोजकत्वमा आर्थिक उप–समिति , प्रल्हाद घिमिरेको संयोजकत्वमा मञ्च सजावट तथा अतिथि सत्कार उप–समिति, ज्वारलाल लामाको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षा उप–समिति , नारायणीदेवी दुलालको संयोजकत्वमा सांस्कृतिक उप–समिति , लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा खाना–खाजा तथा बसाई व्यवस्थापन उप–समिति , महेशदत्त चौलागाईको संयोजकत्वमा कृषि तथा विज्ञान प्रदर्शनी उप–समिति , नवीन लामाको संयोजकत्वमा खेलकुद उप–समिति , प्रधुम्न दाहालको संयोजकत्वमा प्राविधिक उप–समिति , सुशीला लामाको संयोजकत्वमा स्वास्थ्य उप–समिति बनेको छ ।

त्यस्तै, मगर गाउँ मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र आले मगरको संयोजकत्वमा मूल्यांकन अनुगमन र सुपरिवेक्षण उप–समिति , सुरेश बजगाईको संयोजकत्वमा अभिलेख तथा प्रतिवेदन उप–समिति , अर्जुनप्रसाद घिमिरेको संयोजकत्वमा सम्मान उप–समिति र सरिता लामाको संयोजकत्वमा सरसफाइ उप–समिति बनेको छ ।

उप–समितिले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने प्रतिवद्धता भएको छ । विद्यालयका प्रअ फुलध्वज लामाले सबैसँग समन्वय गरेर स्वर्ण जयन्ती मनाउने तयारी भएको बताए ।

स्वर्ण जयन्ती महोत्सव समारोह सम्पन्न गर्नका लागि कोन्ज्योसोम गाउँपालिकाले तेह्रौ गाउँसभाबाट मगर गाउँ मावि विद्यालयलाई स्वर्ण जयन्ती महोत्सवका लागि १२ लाख आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विद्यालयको स्वर्ण जयन्ती मनाउन सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

श्री मगर गाउँ मावि विद्यालय को स्थापना २०३० सालमा भएको हो । हाल विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ। २०७४ सालदेखि यो विद्यालयमा कृषि प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।

अहिलेसम्म करिब यस विद्यालयबाट दुई हजारको हाराहारीमा विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेर विद्यालयबाट बाहिरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्