काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आउँदो ११ गते हुने निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी पूरा भएको आयोगले जनाएको हो ।
निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुखलाई मतदाताको रुपमा ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने ब्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगले आज राति १२ बजेदेखि निर्वाचन प्रयोजनाका लागि प्रचारप्रसार, भेला गोष्टी गर्न निषेध गरिएको जनाएको छ ।
आयोगले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।’
निर्वाचनमा प्रदेशसभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको ब्यवस्था गरिएको आयोगले जनाएको छ ।