
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।
मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।
जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए ।
उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।
जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् ।
उनले चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।
चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् ।
जाडो मौसममा एक भारी दाउराको मूल्य रू एक हजारसम्म पर्ने गरेको छ ।
चिसोले सेवा प्रवाहमा समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहेका वडाध्यक्ष देवजङ बोहराले बताए ।
यसअघि दिउँसो घाम लागेर चिसो कम मानिए पनि आज बिहानैदेखि घाम नलाग्दा अत्यधिक चिसो भएको उनको भनाइ थियो ।
बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।