
धनगढी । आज मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुख गाेपाल हमालकाे घरमा कालाे ब्यानर टाँसेको थियाे ।
उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा कालाे ब्यानर टाँसिएको उक्त पार्टीले जनाएकाे छ ।
मागपत्रसहित उल्लेख ब्यानर टाँस गरेपछि प्रहरीले साे ब्यानर च्यातेकाे छ ।
‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटमसहित हुलाकमार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि केही भएनन्’, पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने, ‘त्यसैले घाेषित दबाब कार्यक्रम अन्तरगत नगर प्रमुख हमालकाे घर र उपमहानगरपालिकामा कालाे ब्यानर टाँसेका हाैं ।’
उनका अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।
१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरुले शुल्क फिर्ता गराउने र निजी स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने उनीहरुकाे माग छ ।
माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरुका शौचालय सफा र व्यवस्थित गर्नु पर्ने पनि पार्टीको माग रहेको छ ।
माघ १५ गतेसम्म वडा नं. ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख रुपैयाँ उपमहानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशुचौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरुले निजी ट्युसन पढाउने र निजी क्लनिकमा व्यवसाय गरेकाे भए त्याे बन्द गराउनुपर्ने, विदेशबाट आएका तरकारी, फलफूल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने उनीहरुकाे आन्दोलनको माग रहेको छ ।
अन्तरक्रिया कार्यक्रम माघ १५ देखि २० गतेसम्म सम्पन्न गर्ने र घर धनीहरुले घरबहालहरुसँग चर्को रुपैयाँ प्रति युनिट विद्युत महशुल र बहाल कर पनि सम्बन्धी घरवहालवालाबाट नै लिने गरेकाले तत्काल बन्द गराउनुपर्ने माग पनि उक्त पार्टीले राखेकाे छ ।