काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।
सातै प्रदेशमा तोकिएका मतदान स्थलहरूमा पुगेर प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार सवा ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६० प्रतिशत मतदान सकिएको जानकारी दिए ।
सातै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको उनले बताए ।
आयोगले मतदानको समय बिहीबार अपराह्न ३ बजेसम्मको लागि तोकेको छ ।
यद्यपि उक्त समय अगावै सबै मतदान सकिने आकलन छ ।
राष्ट्रिय सभाको निर्वाचनको लागि १९ पदका आज मतदान भइरहेको हो ।
मतदान सकिएपछि मुचुल्काको काम गरिने र त्यसपछि मतगणना गर्ने स्थलमा सुरक्षित साथ पुर्याइने प्रवक्ता पौडेलले बताए ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेपछि मात्रै मतगणना सुरू हुनेछ ।
यसबीच कुनै विवाद नभएमा आजै मतगणना सुरू भई निर्वाचन परिणाम आउनेछ ।
प्रदेशसभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ ।
यसअघि प्रदेशको मतभार ४८ र पालिकाको १८ थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाले मतदान गर्दैछन् ।