अमेरिकाको बोल्डर नगरलाई भवन निर्माणमा काठमाडौं महानगरले सहययोग गर्ने

Share:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।

हिजो बुधबार मेयर बालेसँग शिष्टाचार भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले, आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताएपछि मेयरले प्राविधिक सहयोग गर्ने बताएका हुन् ।

‘हामी दुई नगरका जनताको सम्बन्ध वृद्धि हुने क्रियाकलापलाई जोड दिन चाहन्छौँ’, भेटका क्रममा प्रमुख शाहले भने ।

सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने दुवैको दाबी थियो ।

भेटका क्रममा ब्रोकेटले, दुई नगरबीचको भगिनी सम्बन्धबाट जनताहरु आपसमा नजिक हुने बताए ।

ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिए ।

दुई नगरका बीचमा वि. सं. २०७६ बैशाख २९ गते (सन् २०१९ मे १२) भगिनी सम्बन्ध स्थापना भएको हो । भेटका क्रममा दुई नगरका प्रमुखहरुले हस्ताक्षर गरेर सम्बन्ध नविकरण गरेका थिए ।

‘काठमाडौँ र बोल्डर नगरका जनताहरुको आपसी र पारस्परिक सहयोग प्रवर्धन र सुदृढ बनाउने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आपसी क्रियाकलाप आदानप्रदान तथा सञ्चालन हुने छ । आपसी कार्यक्रमलाई समन्वय गर्न भगिनी सम्बन्ध समितिहरु बनाइने छ’, नविकरण पत्रमा उल्लेख गरिएको छ ।

भेटमा क्रममा ब्रोकेटकी पत्नी चेरी ब्रोकेट, महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइराला, काठमाडौँ बोल्डर सिस्टर सिटी प्रोजेक्टका अध्यक्ष नारायण श्रेष्ठसहितको सहभागिता थियो ।

काठमाडौँ महानगरपालिकासँग अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ ।

यसरी भगिनी सम्बन्ध भएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् ।

काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो ।

चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।

कमेन्ट गर्नुहोस्