
काठमाडौँ । आगामी २१ फागुनदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि भएकाे निर्वाचनमा काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह मदान गर्न गएका छैनन् ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मतदान गर्न लाइनमा बस्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भने काठमाडौँमै छन् । उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेडौंडा पुगेकी छिन् ।
मेयर बालेनले यसअघि प्रदेशसभा निर्वाचनमा पनि मतदान गरेका थिएनन् ।
हर्क साम्पाङले पनि बहिस्कार गरे राष्ट्रियसभा निर्वाचन
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।
साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।
राष्ट्रियसभाको १९ सदस्यका लागि आज ७ प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने वित्तिकै गणना प्रारम्भ गर्ने बताइएको छ ।
राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ मतदाता छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ ।
गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा दुई मतदान केन्द्रमा मतदान भइरहेकाे छ ।
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ४ सदस्य पदको लागि हेटाैडाकाे भुटनदेवी माविको भवनको (क) मा प्रदेशसभा सदस्यका लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको दुईवटा मतदान स्थलमा मतदान भइरहेकाे छ । ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने व्यबस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरि २१८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
कोशी प्रदेशमा राष्ट्रियसभाका २ सदस्य निर्वाचनको मतदान जारी छ । प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदानमा भाग लिइरहेका छन् ।