आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

Share:

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई निर्वाचन प्रतिवेदन बुझाएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

१९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रियसभा निर्वाचन भएको थियो । जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए । सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

आयोग स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् ।

कमेन्ट गर्नुहोस्