काठमाडौँ । पश्चिम नवपलरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।
पालिकाको सेवा सुविधा उपभाग गर्ने कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको हाे।
पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख बिमला अर्यालले बताइन ।
सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो ।
उक्त नीति आगामी शैक्षिक सत्रबाट लागू हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभोग गर्ने तीन सय ६७ जना छन् ।
‘ज्यालादारी सहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र सर्शत अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्’, नगरप्रमुख अर्यालले भनिन ।
उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् ।
यसमध्ये तीन विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन् ।