
सिन्धुली । घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले सरकारी बजेटमा पद र पावरको दुरुपयोग गरेको पाइएको छ ।
घलानले पद र पावरको दुरुपयोग गर्दै श्रीमती, छोरा, छोरी, भतिजा र नातेदारलाई गाउँपालिकामा जागिर लगाउन सफल भएका छन् ।
उनकी श्रीमती स्वास्थ्य स्वयम्सेवीका छिन् ।
उनले एक छोरीलाई बिना प्रतिस्पर्धा लेखा विषयको शिक्षक बनाउन सफल भएका छन् । मावि रामपुरमा उनले याेग्यता नै नपुगेकी छाेरीलाई शिक्षक ११/१२ पढाउने गरी शिक्षक बनाउन सफल भएका हुन् ।
ब्याच्लर पास गरेकी उनकी छोरी अहिले कक्षा ११ र १२ अध्यापन गराउने गरी जागिरमा नियुक्त भएकी छिन् । ‘भर्खरै दुई पटक विज्ञापन गर्दा पनि लेखा पढाउने मान्छे नपाएपछि भर्खर भर्ना गरिएकाे हाे। मैले हाेइन् । त्यहाँकाे व्यवस्थापन समितिले भर्ना गरेकाे हाे’, उनले पालिका सञ्जालसँगकाे कुराकानीमा भने ।
उनकी अर्की छोरी गाउँपालिकाकै बर्थिङ सेन्टरमा नर्सिङको जागिरमा छिन् । उपाध्यक्ष घलानले स्वास्थ्य चाैकी शान्तेश्वरीमा नभएकाे बर्थिङ सेन्टरमा अर्की छाेरीलाई बिना दरबन्दी नर्स बनाएर जागिर खुवाउन सफल भएका छन् ।
तामाजाेर मावि विद्यालयमा उनले छोरालाई लेखा पदमा जागिर दिलाएका छन् । ‘तामाजाेरमा दाेस्राे विज्ञापनमा अन्तिमसम्म काेही मान्छे नपाएपछि हेड सरहरुले अनुराेध गरेर लेखाकाे जागिरमा राखिएकाे हाे’, उपाध्यक्ष घलानले भने ।
उनले भाइहरुलाई समेत जागिर दिलाउन सफल भएका छन् ।
उनका एक भाई एक गैरसरकारी संस्थासँगको साझेदारीमा गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा जागिरे छन् ।
उनका अर्का भाइ एम्बुलेन्स ड्राइभर छन् ।
उनले सालालाई पनि गाडीको ड्राइभर बनाएका छन् ।
उनले भतिजलाई कार्यालयको सहयोगीमा जागिर दिलाएका छन् ।
गाडीका उपलब्धता हुँदा हुँदै उपाध्यक्ष घलानले एक सरकारी बाइक पनि किनेका छन् ।
सिन्धुलीमा एक कोठमा समेत गाउँपालिकाको पैसामा कोठा भाडामा लिएको उनीमाथि आरोप छ ।
उपाध्यक्ष घलानले पालिका सञ्जाल सँगको कुराकानी परिवारका सबै व्यक्ति र नातेदार जागिरे भएको स्वीकार गरे ।
तर उनले आफूले बाइक भने सबैका लागि खरिद गरेको बताए । ‘पालिकाका सचिवहरु, कर्मचारीहरुका लागि किनेकाे हाे । मेराे लागि हाइन । मेराे लागि गाडी छ’, उपाध्यक्ष घलानले पालिका सञ्जालसँगकाे कुराकानीमा भने ।
तर अध्यक्ष भाेलानले भने उपाध्यक्ष आफैँले बाइक खरिद गरेकाे र उपयाेग गरिरहेकाे बताए ।
गाउँपालिकामा जम्मा पाँच वडा रहेकोमा गाउँपालिकाले १८ वटाभन्दा बढी बाइकहरु खरिद गरेको छ ।
गाउँपालिका अध्यक्ष जगतबहादुर भोलानले ‘यी सबै कामहरु हाकिमसँग उपाध्यक्षले मिलेर गरेको’ बताए ।
उता गाउँ कार्यपालिका बैठक नै डाकेर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको मासिक सेवा सुविधा पनि वृद्धि गरिएको पाइएको छ ।
गाउँपालिकाले वडा अध्यक्षहरुलाई मासिक २० हजारमा थप १० हजार थपिदिएको छ ।
त्यस्तै कार्यपालिका सदस्यहरुका लागि मासिक थप तीन हजार रुपैयाँ थप गरेको पाइएको छ ।
गाउँपालिका उपाध्यक्ष घलानले अध्यक्ष भोलानलेसमेत ज्यालादारीमा आफ्ना नातेदारलाई गाउँपालिकामा जागिर दिलाइरहेको आरोप लगाएका छन् ।
गाउँपालिका अध्यक्ष भोलान कांग्रेसबाट अध्यक्ष भएका हुन भने उपाध्यक्ष नेकपा माओवादीका हुन् ।
जनताको लागि काम गर्न निर्वाचित प्रतिनिधि आफ्नै परिवार र नातेदारलाइृ जागिर खुवाउन तल्लिन भएको भन्दै स्थानीयले बिरोध गरिरहेका छन् ।
एक सामाजिक संजाल फेसबुक प्रयोगकर्ता रामकाजी वाइबाले जनप्रतिनिधिले मनपरी गरेको भन्दै आक्रोश पोखेका छन् ।