युवा पलायन रोक्न हतुवागढीले गाउँमै निःशुल्क पढाउन थाल्याे लोकसेवा र शिक्षकसेवाकाे ‘काेर्स’

Share:

भाेजपुर । हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाले युवा जनशक्तिलाई पलायन हुनबाट राेक्न आयोगको परीक्षा तयारीका लागि कक्षा सञ्चालन सुरु गरेको हो ।

लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

‘युवायुवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा सुरु गरिएको हो’, उनले भने ।

गाउँपालिकाले पाँच लाख रुपैयाँ रकम विनियोजन गरेर कक्षा सञ्चालन गरेको हो । हाल तयारी कक्षामा ४६ जनाको परीक्षार्थीको सहभागिता रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँघरमै लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका युवायुवती खुसी भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने बताए ।

गाउँपालिकाको सो योजनामा सीएससीआई एजुकेसन फाउन्डेसन दमकले सहजीकरण गरिरहेको छ ।

यसअघि विभिन्न गाउँपालिकामा पनि तयारी कक्षा सञ्चालन गरिरहेको फाउन्डेसनका प्रमुख राजु गौतमले बताए । एक महिनामा लोकसेवा तथा शिक्षासेवाका ६० वटा कक्षा सञ्चालन हुनेछन् ।

कमेन्ट गर्नुहोस्