श्रमिकका परिवारलाई स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी

Share:

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ ।

अहिलेसम्म योगदान गर्ने श्रमिकका श्रीमान तथा श्रीमतीले स्वास्थ्य सुविधा पाउँदै आएकोमा अब उनीहरुका छोराछोरीले पनि सुविधा पाउने गरी दायरा विस्तार गर्न लागिएको हाे ।

कोषको कार्यविधिमा संशोधन गरेर कोषमा योगदान गर्ने श्रमिकका छोराछोरीले पनि स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

उनले कोषको कार्यविधि छिट्टै संशोधन हुने पनि जानकारी दिए । कोषले पछिल्लो समय स्थानीय सरकारसँग सम्झौता गरी अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान नै संचालन गरेको छ ।

सबै नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने अभियानका साथ स्थानीय सरकारसँग सम्झौता गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आवद्ध गराउने अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारी बताउँछन् ।

अहिले कार्यान्वयनमा रहेको श्रम ऐनअनुसार औपचारिक क्षेत्रका श्रमिक अनिवार्य रुपमा कोषमा आवद्ध हुनुपर्छ । बैदेशिक रोजगारीमा जाने र स्वरोजगार व्यक्ति पनि कोषमा आवद्ध हुन सक्छन् ।

अहिलेसम्म कानुनी रुपमा समेट्न छुटेका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय सरकारहरुसँग सम्झौता गरी उनीहरुलाई पनि समेट्ने अभियान कोषले संचालन गरिरहेको छ ।

कोषले यसअघि नै ७ स्थानीय तहसँग सम्झौता गरी सो स्थानीय तहभित्रका अनौचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आवद्ध गराएको थियो ।

यस्तै, माघ पहिलो साता कोषले गण्डकी प्रदेश अन्तरगतका ३२ स्थानीय तहसँग एकैपटक सम्झौता गरी कोषका आवद्ध हुने श्रमिकको संख्या उल्लेख्य रुपमा बढाउने काम गरेको थियो ।

कमेन्ट गर्नुहोस्