
काठमाडौँ । पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि शिक्षक र अभिभावक दुवै पक्षलाई तालिम चाहिएको प्रध्यानाध्यापकहरुले बताएका छन् ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षण सामग्री, शिक्षकको संख्या थप, आयाको व्यवस्था, वाहिरी वातावरणमा सहयोग, सिकाइमैत्री कक्षा कोठा, शिक्षक सहजकर्तासँगै अभिभावक र शिक्षक दुवैलाई तालिम उपलब्ध गराउनु पर्ने बताएका हुन् ।
बिहीबार पूर्व बाल बिकास र शिक्षामा प्रधानाध्यापकहरुको वुझाइ थाहा पाउन तथा आधारभूत विषयमा साझा धारणा निर्माण गर्न आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका थिए ।
शैक्षिक विकास तथा सुधारका राष्ट्रिय नीति तथा रणनीति छन् । महानगरपालिकाले बालमैत्री शिक्षण सिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ । यसको प्रभावकारी कार्यान्वयन गर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्ने जस्ता क्रियाकलापमा शैक्षिक क्षेत्रको भूमिका छ । कार्यक्रम आयोजनाका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भने, ‘नीति, रणनीति, कार्ययोजना र प्रतिवद्धतासँग बिद्यालयहरुको अभ्यासका बीचमा देखिएको अन्तर कम गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको गरिएको हो ।’
महानगरपालिकाभित्रका ७६ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल शिक्षा र विकासका लागि कस्तो अभ्यास भएको छ भन्ने विषयमा काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेसनले आधारभूत सर्वेक्षण गरेको छ ।
विश्वविद्यालयका मास्टर्स इन अर्ली चाइल्डहुड डिभलपमेन्ट कोर्षका संयोजक डा. मीनाक्षी दाहालकाअनुसार विद्यालय बाहिरको वातावरण, शौचालय र हात धुने ठाउँ, कक्षा कोठाको आकार र सिकाइ वातावरण, दिवा खाजाको व्यवस्था, शिक्षकहरुको योग्यता, सिकाइका क्षेत्र र सामग्रीहरुको उपलब्धताका कोणबाट अध्ययन गरिएको थियो ।
उनकाअनुसार भौगोलिक वनावटका दृष्टिले ३९ प्रतिशत विद्यालय सुरक्षित छन् । ३२ प्रतिशत सडकसँग जोडिएका छन् । १३ प्रतिशत मन्दिर र बजार क्षेत्रको प्रत्यक्ष सम्बन्धमा छन् । ८ प्रतिशत पहिरोलगायत प्राकृतिक विपतको जोखिममा छन् । १ प्रतिशत भूकम्पीय जोखिममा छन् । १ प्रतिशत घाट वा मानव अन्त्येष्टि स्थल नजिक छन् । १ प्रतिशत जङ्गल नजिक, १ प्रतिशत बाढी प्रभावित क्षेत्रमा, १ प्रतिशत फोहोर व्यवस्थापन हुने स्थल नजिक छन् ।
बाहिरी वातावरणअन्तर्गत ५८ प्रतिशत विद्यालयमा बाह्य क्रियाकलापका लागि खेल मैदान छ । ४२ प्रतिशतमा छैन । खेल मैदान भएकामध्ये ३१ प्रतिशत विद्यालयमा पिङ्, चिप्लेटी, टनेल, चाकाचुलीजस्ता खेल सामाग्री राखिएका छन् । ६९ प्रतिशतमा छैन । २३ प्रतिशत विद्यालयमा बालमैत्री शौचालय छ । ७७ प्रतिशतमा छैन । भएका शौचालयमध्ये पनि १७ प्रतिशत सफा छन् । ८३ प्रतिशत सफा छैनन् । १५ प्रतिशतमा हात धुने साबुन राखिएको छ । ८५ प्रतिशतमा छैन ।
कक्षा कोठाको आकारका दृष्टिले हेर्दा २८ प्रतिशतमा पर्याप्त ठाउँ भएका छन् । ७२ प्रतिशत साँघुरा छन् । ६ प्रतिशतमा उमेरगत कक्षा व्यवस्थापन गरिएको छ । ८ प्रतिशतमा मिश्रित उमेर समूहका कक्षा छन् । ८६ प्रतिशतमा यसको ख्याल गरिएको छैन ।
एउटा कोठामा १५ जनादेखि २० जना राखिएका १९ प्रतिशत कक्षा छन् । २१ देखि २५ जनासम्म राखिएका ३९ प्रतिशत, २६ देखि ३० जनासम्म राखिएका १० प्रतिशत र ३० जनाभन्दा धेरै विद्यार्थी राखिएका ३२ प्रतिशत कक्षा छन् ।
१२ प्रतिशत विद्यालयमा दिवा खाजाको तालिका छ । ८८ प्रतिशतमा छैन । ४ प्रतिशत विद्यालयमा ताजा खाजा भेटियो भने ९६ प्रतिशतमा पाइएन । प्रारम्भिक बाल विकासको कक्षामा १० कक्षा मात्र उत्तीर्ण शिक्षकको संख्या १ प्रतिशत छ । ९९ प्रतिशत शिक्षकको शैक्षिक योग्यता १२ कक्षाभन्दा धेरै छ । यसमा सबै शिक्षकले आधारभूत तालिम लिएका छन् ।
अध्ययनले देखाएको अवस्था प्रस्तुत गर्दै दाहालले, सिकाइ क्षेत्र (गणित, विज्ञान, भाषा, अभिनय तथा संगीत, सिर्जनात्मक तथा कला, स्बाबलम्बन तथा निर्माण, पुस्तकालय) का दृष्टिले ८ प्रतिशत विद्यालयमा उपलब्धता देखिएकोे बताइन् । ३२ प्रतिशतमा आंशिक उपलब्धता छ । ६० प्रतिशतमा छैन । ३७ प्रतिशत विद्यालयमा सिकाइ सामग्रीको उपलब्धता छ । ६३ प्रतिशतमा छैन । यस्ता सामग्री भण्डार गर्ने तथा प्रदर्शन गर्ने स्थानका दृष्टिले ७४ प्रतिशतमा उपलब्धता छ । २६ प्रतिशतमा छैन । स्थानीय सामग्रीको प्रयोग गरेर ३ प्रतिशतले सिकाइ सामग्री बनाएका छन् । ९७ प्रतिशतले छैनन् । ५८ प्रतिशतमा श्रव्य–दृश्य कक्ष छ । ४२ प्रतिशतमा छैन ।
पूर्व वाल्यावस्था बिशेषज्ञ जेन क्रिल थम्पसनका अनुसार ४ देखि ५ बर्षसम्म (४८ महिनादेखि ६० महिनासम्म) का बालबालिका यसका लक्षित समूह हुन् । यो उमेर समूहका बालबालिका प्रायः विद्यालय शिक्षा प्रणाली आवद्ध भइसकेका हुन्छन् । यो बालबालिकाहरुका लागि मुख्य सिकाइ अवधि हो । यसबाट जीवनका पछिल्ला शैक्षिक सिकाइ तथा क्रियाकलापहरु प्रभावकारी हुन्छन् । उनीहरुको यो अवस्था विद्यालयका प्रधानाध्यापक र शिक्षकले थाहा पाउनु पर्छ । यसै अनुरुप व्यवहार तथा शिक्षण क्रियाकलाप गर्नुपर्छ ।
पूर्व प्राथमिक विद्यालयमा अङ्कको ज्ञान, धारणा तथा सोच निर्माण, अरुले भनेको कुरामा प्रतिक्रिया जनाउने सीप, आवेग, संंवेगको नियन्त्रण जस्ता ज्ञान र सीप विकास हुन्छ ।
यी प्रारम्भिक बर्षहरुमा बालबालिकाको मस्तिष्क सबैभन्दा धेरै वृद्धि हुन्छ । राम्रो र छिटो सिक्न सक्छन् । यो समयमा गुणस्तरीय हेरचाह भयो भने स्वस्थ्य हुन्छन् । अरुसँग राम्ररी मिल्न सक्छन् । शिक्षित र उत्पादनशील सोचयुक्त जनशक्ति उत्पादनमा यस समयको सिकाइ प्रभावकारी मानिन्छ ।
भाषा, सामाजिक व्यवहारहरु विद्यालय उमेरमा विकास हुँदै जान्छ । अभिमुखीकरणले शिक्षक विद्यार्थीबीचको सम्बन्ध, कक्षा कोठासहितको पूर्वाधारसँगै समग्र विद्यालयको शैक्षिक वातावरणका लागि काम गर्न महानगरपालिकाले सहयोग जारी राख्नु पर्ने आवश्यकता देखाएको छ । बाल केन्द्रीत शिक्षण सिकाइ सबै क्रियाकलापलाई यसले नतिजामूलक बनाउने प्रधानाध्यापकहरुको भनाइ छ ।