काठमाडौं महानगरः प्रमुख प्रशासकीय अधिकृत र विभागी प्रमुखहरुको हरेक दिन प्रगति बैठक हुने

Share:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन बिहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् ।

विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको उनले जानकारी दिए ।

‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामा भन्दा विषयमा केन्द्रीत गरिनेछ’, बैठक योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’

आज उनकै कार्यकक्षमा बसेको आर्थिक बर्ष २०७९/८० को आय–व्यय स्रेस्ताको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखहरुसँग छलफल गर्दै योजना सुनाउने काम भएको थियो ।

खर्च बढाउन र बेरुजु घटाउन विभागका प्रमुखहरुले सक्रिय भएर काम गर्नुमा उनको जोड थियो ।

प्रतिवेदनले औल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ बेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखहरुले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नु पर्ने काम र निर्वाह गर्नु पर्ने भूमिका छलफलको मुख्य विषय थियो ।

बैठकमा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

यस्तै आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेले विषयसँग सम्बन्धित यसअघि गरिएका कामका विषयमा जानकारी गराएका थिए ।

विभागका प्रमुखहरुलाई वडा सहजीकरणको जिम्मेवारी

बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले, आजसम्ममा वडाहरुले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गरेका थिए ।

‘वडाका काम महानगरबाट अलग छैनन्, अलग्ग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनु पर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई २ वटा वडाको जिम्मेवारी दिएको छु’, उनले भने, ‘अहिलेसम्म देखिएको प्रगतिको अङ्क तपाईँहरुले काम थाल्ने विन्दु हो । तपाईँको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईँको उपस्थितिको मापन सूचक हो ।’

प्रशासन विभागका प्रमुख दीपक अधिकारीलाई वडा नं. वडा नं. ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा नं. ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा नं. २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा नं. १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा नं. ८ र १४ को जिम्मेवारी दिइएको छ ।

यसैगरी वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीलाई वडा नं. ९ र १० को जिम्मेवारी दिइएको छ ।

खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा नं. ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई वडा नं. २१ र २९, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई वडा नं. २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा नं. १ र ३१, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई वडा नं. ४ र २६, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यलाई वडा नं. २२ र ३२ को जिम्मेवारी दिइएको छ ।

सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालालाई वडा न. १३ र १९, सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईलाई वडा नं. २५ र २८, स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनलाई वडा नं. १८ र २७, शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नं. २३ र २४ को जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्