
काठमाडौँ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली २० लाख धरौटी जमानीमा छुटेका छन् । धरौटीमा छाड्न उच्च उदालतले आदेश दिएको हाे ।
बिहीबार बसेको न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।
पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले उनलाई गत पुस ११ गते प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो ।
उनलाई गत पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको बयानपछि पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।
गण्डकीमा सहकारी रजिस्ट्रार हुँदा सहकारीको शाखा विस्तारका क्रममा घुस लिएको उनीमाथि आरोप लागेको थियो । मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
उनीहरुको बयानका आधारमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको थियो ।