बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

हत्याको पनि आरोप

नगर प्रमुख थापा विरुद्ध हत्याको आरोपसहित किटानी जाहेरी पनि परेको थियो ।

आफ्ना पूर्व सहकर्मी सर्लाहीका कुमार पौडेलेको हत्या गरेको आरोप लगाउँदै पौडेलका परिवारले उनीसहित १५ उच्च पदस्थ व्यक्तिविरुद्ध २० असोज २०७८ मा किटानी जाहेरी दिएका थिए ।

विशेष ब्यूरोबाट खटिएको टोलीको गोलीबाट ५ असोज २०७५ मा विप्लव माओवादीका नेता पौडेल मारिएका थिए । प्रहरीले त्यसबेला उनी दोहोरो भिडन्तमा मारिएको दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगको छानविनमा भने उनलाई नियन्त्रणमा लिएर गोली हानेको देखिएको थियो ।

जाहेरीमा कुमारको हत्या भएको दाबी गर्दै सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालीन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका तत्कालीन इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाही मलगंवामा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्यनारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न भनिएको थियो ।

जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न पनि माग गरिएको थियो । उनीहरू विरुद्ध कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले किटानी जाहेरी दिएकी थिइन ।

कमेन्ट गर्नुहोस्