आज इदउलफित्र, हिन्दु र मुस्लिम मिलेर मनाउँदै

Share:

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

एक महिनासम्म सञ्चालन भएको यो पर्वमा मुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाजको आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

सुख, शान्ति र समृद्धिका लागि एत्तकाब

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको २० औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिना तीन भागमा विभाजित हुन्छ ।

पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २० औँ रोजापछि सुरु हुने तेस्रो आसरा हो । नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन रही आएको छ ।

एत्तकाबमा बस्ने मानिसहरुले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ, जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् ।

इदउलफित्र

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउलफित्र’ मनाइरहेका छन् । ‘इदउलफित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन् । रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यसअन्तर्गत हैसियत हुने मुस्लिमहरुले ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । कुरानमा नै हैसियत हुनेहरुले मक्का जानुपर्दछ भन्ने उल्लेख गरिएअनुसार मुसलमानहरु यसरी मक्का जाने गर्दछन् ।

फितरा र जकात

रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो सात सय ५० ग्राम गहुँको मूल्य बराबर फित्तराको रुपमा निकाल्नुपर्छ ।

जुन रकम गरिब र मदरसा ९पाठशाला०मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’ को नमाज पढ्नुभन्दा पहिले नै निकाली सक्नुपर्छ । अनिमात्र उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ ।

जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नुपर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरुमा लागू हुन्छ ।

इद–उल फित्रमा सामूहिक प्रार्थना गर्दै
सुनसरी, २९ चैत :
इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद)का अवसरमा बिहीबार सुनसरीको इनरुवास्थित जामे मस्जिदमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय ।

तराबी नमाज

रमजान महिनामा मुस्लिमले नियमितरुपमा दिनमा पाँच पटक पढ्ने नमाजसँगै तराबी नमाज ९विशेष नमाज० पढ्ने गर्दछन् । तराबी नमाज धार्मिक ग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् ।

तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लै दिनबाट तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरुले उपहार दिने चलन छ ।

इदको दिन नयाँ लुगा र समुदायमा पाक्ने परिकारका बास्नाले झन रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारको अनुभव छ । उनले आजको दिनमा आम मानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्दै अल्लाहसँग प्रार्थना पनि गरे ।

नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय
राँझा (बाँके),२९ चैत:
नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र मनाउँदै छन् भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दूहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दू÷इस्लाम अनुयायी एकापसमा शुभकामना आदानप्रदानमा व्यस्त छन् ।

“इद मुवारक ‘शुभकामना’ छ’, महोत्तरीको भङ्गाहा–४ रामनगरको मुसलमानटोल पुगेका हिन्दू युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्”, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दू साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । “हामी मुस्लिम साथीलाई भेट्न उनीहरुको घरमा पुग्दैछौँ”, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भन्छन्, “ यहाँ खुसीको वातावरण छ ।”

नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय
राँझा (बाँके),२९ चैत:
नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

जलेश्वर सामाजिक र धार्मिक सद्भावका लागि उदाहरणीय भएको नगरप्रमुख सुरेश साह सोनार बताउँछन् । “कुनै मुस्लिमलाई इदको शुभकामना दिन उनका आफन्तभन्दा पहिले हिन्दू पुग्छन्, त्यस्तै हिन्दूका पर्वमा शुभेच्छा प्रकट गर्न मुस्लिम पुग्ने गरेका छन्”, “आफ्नो माटोको सहिष्णुताबारे नगरप्रमुख साह भन्छन्”, यो मैथिल परम्परा र संस्कृतिको प्रभाव हो । जलेश्वरमा दसैँ महोत्सव र महाशिवरात्रिजस्ता पर्व र समारोहमा मुस्लिम युवा स्वयम्सेवी हुने गरेका छन् ।’

जिल्लाका उत्तर÷दक्षिण तथा पूर्व/पश्चिम जता पुगे पनि हिन्दू र मुस्लिम युवा सराबरी आपसमा खुसी साटासाट गरीरहेका भेटिएको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउँछन् । “चाडपर्वमा देखिने हिन्दू÷मुस्लिमबीचको यो प्रेम र सद्भावले मलाई भावुक बनाउँछ”, उनी भन्छन्, “छुट्याउनै सकिन्न, इदमा हिन्दू खुसी व्यक्त गरिरहेका हुन्छन्, दसैँ, छठ र फागुजमा मुस्लिम युवाले त्यसै गरेको देखिन्छ ।” यो मिथिला संस्कृतिमात्र नभएर बुद्ध दर्शनको समेत प्रभाव भएको उनको भनाइ छ ।

घोराहीको इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय
दाङ, २९ चैत :
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । इद पर्वमा सबैजना एकै ठाउँमा भेला भएर अल्लाह(भगवान)का नाममा विशेष नमाज(प्रार्थना)गर्ने तथा शुभकामना आदान प्रदान गरेर मनाउने इस्लाम परम्परा छ ।

मैथिल हिन्दू, मुसलमान,बौद्ध र इसाइ सबै धर्मका आ–आफ्नै परम्पराका छन् । यहाँको आपसी सद्भाव र धार्मिक सहिष्णुता चाहिँ वैदिक सनातन, इस्लामिक सुफी सन्त र बुद्ध दर्शन परम्पराको निरन्तरता भएको पाका मैथिल बताउँछन् । यो आपसी प्रेम, धार्मिक सद्भाव र सहिष्णुताले मैथिल हुनुको गर्वानुभूति भएको रामगोपालपुर–२ महनपुरका ६० वर्षीय इस्लाम धर्मावलम्बी महम्मद कादिर हुसैन बताउँछन् ।

कमेन्ट गर्नुहोस्