प्रदर्शनकाे क्रममा फाेहाेर गरेकाे भन्दै राप्रपालाई काठमाडाैं महानगरकाे पत्र, ३ दिनभित्र उपस्थित हुन आग्रह

Share:

काठमाडौं । काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई तीन दिनभित्र महानगरकाे कार्यालयमा उपस्थित हुन पत्र काटेको छ।

राप्रपाले मंगलबार गरेको प्रदर्शनकाे क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन आग्रह गरेकाे हाे।

महानगरले प्रदर्शनकाे क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको जनाएकाे छ।

पत्रमा भनिएकाे छ, ‘चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिकाअन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु।’

राप्रपाकाे प्रदर्शनकाे क्रममा पुतलीसडक, भद्रकाली क्षेत्रकाे सडक कुरूप भएकाे थियाे।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको थियाे।

प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा लाठीचार्जसमेत भएको थियाे।

कमेन्ट गर्नुहोस्