
काठमाडौँ । मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन् ।
अध्यक्ष घलेलाई काठमाडौँ महानगरपालिका–११ बबरमहलबाट बुधवार पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएकाे छ ।
उनी पक्राउ परेको विषयलाई नौकुण्ड गाउँपालिकाका एक कर्मचारीले पुष्टि गरे । २०७३ सालतिर उनले कुवेत पठाउने भन्दै एकजना व्यक्तिलाई श्रीलंका पठाएकाे र ती व्यक्ति नेपाल फर्किसकेकाे प्रहरीले जनाएकाे छ ।
घलेमाथि कुवेतमा मासिक २८ हजार रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा लगेर मानव बेचबिखन गरेको अभियोग छ ।
‘घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा लगेको खुल्न आएको छ’, प्रहरीका एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेका घलेमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतकाट ५ दिनको अनुमति लिएको उनलाई हिरासतमा राखिएकाे छ ।
बेचबिखनमा परेका भनिएकाहरुले नेपाल फर्किएर दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।