काठमाडौँ । इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय स्थल श्रीअन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ ।
सूर्योदय नगरपालिकाको आयोजनामा वडा नम्बर ४ मा पर्ने श्रीअन्तुमा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए ।
महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।
भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रम हुने छ।
महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको छ ।
महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी ५ हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको नगरका उपप्रमुख बरालले जानकारी दिए ।
अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योेदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने छन् ।