काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ ।
सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र रहेका छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय रहेको छ ।
रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरेको काठमाडौं महानगरले जनाएको छ ।
यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिने महानगरले जनाएको छ ।
विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।
पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरुले अध्ययन गरको महानगरको डेटा छ । यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ । गएको बर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भएको महानगरले जनाएको छ ।
३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको बर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरेको डेटामा उल्लेख छ । यस वर्ष भने कक्षा १ मा पूर्ण क्षमताका लागि चालु शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना गर्ने महानगरले तयारी थालेको छ ।
बैशाख २ गतेदेखि ७ गतेसम्म सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन
शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले बैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ ।
बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलकाअनुसार भर्ना अगाडि विद्यालयहरुमा पुस्तक, विद्यालय भवन तथा कक्षा कोठाहरुको मर्मत, प्रयोगशालाहरुको व्यवस्थापनका काम भइरहेका छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि सिकारुहरुलाई तयार र स्वतःस्फूर्त रुपमा सिक्ने क्रियाकलापप्रति लाग्ने वातावरणका लागि महानगरपालिकाले भौतिक संरचनाको सुधार, प्रयोगशालाहरुको उपलब्धता, दिवा खाजाको व्यवस्था गरेको छ ।
विद्यालय नर्स कार्यक्रमबाट स्वस्थ्य आचरण सुधार तथा विद्यालयमै प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् ।
कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित हुनेछन् । विद्यालयका क्रियाकलापहरुलाई सीसीटिभी क्यामराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिनेछ ।
शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस बर्षका लागि करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ ।
यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि १ अर्व ४७ करोड आन्तरिकतर्फ र संघबाट प्राप्त हुने १ अर्व २७ करोड रुपैयाँ छ ।