काठमाडौं । सरकारले आन्दोलनमा सरकारी सम्पत्तिमा क्षति गरे सम्बिन्धित व्यक्ति, संस्था वा दलबाट क्षतिपूर्ति भराउने भएको छ ।
गृहमन्त्रालयबाट जारी भएको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने तर आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति पुर्याएमा सम्बिन्धित पक्षलाई तिराउने भनिएको छ ।
सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्र पनि खुल्ला गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग मा सरकारी, सार्वजनिक वा व्यक्तिगत सवारी साधन, घर, वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्याएमा दश हजारसम्म जरिवाना, ६ महिना कैद वा दुवै हुनसक्ने र निजले गरेको हानी नोक्सानीको बिगो असुल उपर गरी जरिवाना गरिने उल्लेख छ । सरकारले त्यही कानुनको प्रभावकारी कायान्वयन गर्ने जनाएको छ ।
गृहमन्त्री रवी लामिछानेले एक स्टाटस सार्वजनिक गर्दै गएको केही दिन अघि राप्रपाले गरेको तोडफोड र क्षतिको संकलन भइरहेको र उक्त क्षति भरपाई गराउने आशयको अभिव्यक्ति व्यक्त गरेका छन् ।
साथै नयाँ वर्षको अवसरमा सरकारले ठमेल र दरवारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला हुने व्यवस्था मिलाएको छ ।