बाँकेमा रहेका नेपाल–भारतका १६ सीमा स्तम्भ गायब

Share:

बाँके। बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल–भारत सीमा स्तम्भ हराएका छन् ।

भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।

नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ ।

सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको छ ।

दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन सकेकाे छैन ।

बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । पैसठ्ठी किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट (बिओेपी) राखेर सुरक्षा दिइरहेको छ ।

भारततर्फ भने २३ बिओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्