काठमाडौं । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल–राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो ।
नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान मुहम्मद तन्भिरले ३३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए ।
यस्तै मोहम्मद अहनाफले २३ तथा हिमांशु सिंहले २२ रन बनाए । अद्नान मिर्जाले १९ रन जोडे भने ओपनर कम्रान खानले १८ रन जोडे ।
नेपाललाई जिताउनका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २-२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १-१ विकेट लिए ।
त्यसअघि दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । अल अमेरातमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।
नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए ।
ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए ।
कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए ।
कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।
सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए ।
सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे ।
आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे ।
कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए ।
कतारको यो लगातार दोस्रो हार हो । कतार हिजो हंगकंग विरुद्ध पराजित भएको थियो । नेपालले भने मलेसिया माथि ५ विकेटको जित निकालेको थियो ।
समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो ।
युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।