थाक्रे गाउँपालिकाकाे झण्डाचुलीमा नेपालकाे झण्डा ठड्याइयाे

Share:

धादिङ । महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङकाे थाक्रे गाउँपालिका वडा नम्बर ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा ठड्याइएकाे छ ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा नेपालकाे झण्डा फहराइएकाे हाे । झण्डा ठड्याउन बागमती प्रदेशका सांसद मधुकुमार श्रेष्ठ, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्रबहादुर थापा, थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडा अध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिराबहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, व्यवसायीलगायतको उपस्थिति थियाे ।

प्रदेश सांसद श्रेष्ठले कार्यक्रममा पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप बिकास गर्न आफूले पहल गर्ने बताए । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुलीसम्म आउने सडकलाई व्यवस्थित गर्ने बताए। थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा ‘जिन्दगी’ले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए।

थाक्रे गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको बिकासमा आफूले पालिका, प्रदेशदेखि केन्द्रसम्म पहल गरिरहेको बताए। पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो ।

इतिहास सम्झँदै त्यस ठाउँमा प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्