‘सम्युवा’ नगर स्वयम् सेवकले सफाइ गरे नागपोखरी

Share:

काठमाडौँ । नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयम् सेवकहरूले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन् ।

सफाइका लागि भेला भएका स्वयम् सेवकहरू भेला भएपछि ‘प्रकृति र संस्कृति’को अन्तरसम्बन्धको बारे विचार विमर्श गरे । त्यसपछि सरसफाइ गर्न थालेका थिए ।

स्वयम् सेवकहरूलाई चार दिनको तालिम दिइसकिएको छ । अब हरेक शनिबार सम्पदा डबली कार्यक्रम अन्तर्गत स्थानीय समुदाय र विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने काठमाडौं महानगरको पर्यटन महाशाखाले जनाएको छ ।

पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले पहिलो शनिबारको कार्यक्रममा ५० जना सहभागी भएर सरसफाइ गरेको जानकारी दिइन् ।

सरसफाइका क्रममा स्वयम् सेवकहरुले फोहोरलाई जैविक र अजैविक गरी दुई भागमा छुट्याएर संकलन गरेका थिए ।

प्राप्त फोहोरमा सबैभन्दा कुहिने फोहोर (रूखका पात, भक्तले उत्पादन गरेका प्रसाद, फूल) थियो । त्यसपछि कागज (कार्टुन बक्स, सामान पोको पारेर ल्याएका पत्रिकाहरू), प्लाष्टिकजन्य फोहोर (पोलिथिन झोला, दूधका प्याकेट, मिनरल वाटरका बोटल, काम नलाग्ने झिलझिले प्लाष्टिक), धातु (क्यानका बोतलहरू), कपडाहरू थिए ।

यस्तै पान परागका खोलहरू थुपै्र भेटियो । यसरी संकलन गरिएको फोहोरको मात्रा करिब छ सय मेट्रिक टन थियो ।

कार्यक्रमका बारेमा वातावरणविद् भूषण तुलाधरले, यस्ता सामुहिक कामले युवाहरूमा प्रकृति र संस्कृतिबिचको अन्तरसम्बन्ध र सहअस्तित्वका बारेमा गहिरो चाख बढ्ने बताउँदै यसबाट दिगो वातावरणीय सुधारका लागि सहयोग हुने धारणा राखे ।

सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, नक्साल बक्सिङ क्लबका पदाधिकारी, पुरातत्व विभागका प्रतिनिधि, छिमेकी वडा नं ५ का वडा सदस्यसहित जीवन्त हाँडीगाउँ अभियानका अभियन्तासहितको सहभागिता थियो ।

स्वयम् सेवकहरूले एक हप्ताभित्र पाहाँचह्रे जात्रा र बत्सलेश्वरी जात्राको अभिलेखनका लागि तथ्याङ्क संकलन गरेका छन् ।

यसपछि हाँडीगाउँमा गहना खोज्ने जात्रा र सेतो मछिन्द्रनाथको जात्राको तयारीमा लागेका छन् । प्रधानका अनुसार जात्रापछि विद्यार्थीहरूलाई सम्पदा र संस्कृतिको बारेमा जानकारी दिन विद्यालयहरूमा खटाइनेछ ।

कमेन्ट गर्नुहोस्