
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन आवश्यक पर्छ ।
नाउपाको रेशम पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियाे भने रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको थियाे ।
नाउपा अध्यक्ष श्रेष्ठ भने केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको बताउँदै आएकी छन् ।
नेताहरूकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यो समझदारी भएको थियो ।
नाउपाको रेशम पक्षलाई नेकपा एकीकृत समाजवादीले साथ दिएमा उसको पक्षमा २६ जना पुग्छन् ।
कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षका ४ जना सांसद छन् ।
प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिंदैछ ।