एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

64
0
Share:

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा खेल सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।

यस्तो छ हेड टु हेड

नेपाल र हङकङबीच ९ पटक टी–२० आई खेल भएका छन् । दुबै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा ओमान र युएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । नेट रनरेटको कारण ओमान शीर्ष र युएई दोस्रो स्थानमा छन् । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

कमेन्ट गर्नुहोस्