‘द रेड सुटकेस’ हेरेपछि डा. भट्टराईले सोधेः के यस्तो नेपाली चलचित्र पहिले कहिल्यै बनेको थियो ?

Share:

काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार बेलुका सुन्धारास्थित सिडिसी सिनेमामा छोरी मानुषी भट्टराईसँगै चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् ।

यो चलिचत्र हेरेपछि उनले यसको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरे । फिल्म हेर्दै उनले ‘द रेड सुटकेस’ जस्तो फिल्म आजसम्म कतै पनि नहेरेको प्रतिक्रिया उनले दिए ।

फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले ‘द रेड सुटकेस’को शैली प्रति जिज्ञासा राखेका थिए । उनले यो चलचित्रलाई फरक र अनौठो भएको बताए ।

‘यस्तो खाले नेपाली सिनेमा पहिले कहिलै बनेको छ ? कस्तो सिनेमा भन्छन यसलाई ?’ बाबुरामको प्रश्न थियो ।

जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर सिनेमा बनाएको उत्तर दिए । ८ा भट्टराईले फेरि सोधे– ‘ग्याब्रियल मार्खेजको जस्तो त हैन ?’
फिडेलले बाबुरामको ठम्याइमा सहमति जनाए ।

डा. भट्टराईले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्यहरु पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए ।

फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराएका थिए ।

बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषी भट्टराईले भने फिल्म नेता तथा नीति निर्माणको ओहदामा बसेका सबैले अनिवार्य रुपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।

‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा फिल्मले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’ मानुषीको भनाइ थियो ।

चैत ३० गतेबाट मुलुकका ४ दर्जनभन्दा बढी चलचित्र घरमा प्रदर्शन भइरहेको चलचित्र ‘द रेड सुटकेस’ले बलियो वर्ड अफ माउथ पाएको छ ।

लेखक, कवि तथा कलाकारले चलचित्रको मुक्तकण्ठले प्रशंसा गर्दै चलचित्रले कलात्मक फिल्म निर्माणको इतिहासमा नयाँ मानक स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।

आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्