
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबीच द्विपक्षीय भेट भएको छ ।
सोमबार परियारको सभाकक्ष काठमाडौँ प्लाजामा दुई कार्यकारी अधिकृतबीच भेट भएको हो ।
भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको काठमाडौं महानगरले जनाएको छ ।
कुराकानीका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले ‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरुको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिने’ विषय राखेका थिए ।
काठमाडौँको अभ्यासका विषयमा जानकारी दिँदै उनले, पेशागत दक्षता अभिवृद्धि साझा कार्यक्रममध्येको एउटा हुन सक्ने बताए ।
काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको थाहा पाउँदा अझ आत्मीय सम्बन्ध महसुस भएको सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युको जवाफ थियो । भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युले
‘सहरहरुका प्रशासनिक समस्या उस्तै रहेको र यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुल बीच सहकार्य गर्न सकिने’ बताए ।
भेटका क्रममा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतिकरण गरेका थिए ।