बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष भन्छन्– शिक्षकले राजनीति गरेको भेटिए कारबाही हुन्छ

Share:

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले शिक्षकलाई राजनीतिक पार्टीमा आवद्व भए कारबाही गर्ने बताएका छन् ।

पालिकाको वडा नम्बर– २ मा सोमबार भएको एक कार्यक्रममा अध्यक्ष थपलियाले शिक्षकलाई राजनीतिक दलमा आवद्व नहुन चेतावनी दिएका हुन् । ‘विद्यार्थी पढाउन जागिर खाएका शिक्षक पार्टीको झण्डा बोकेर हिँडेका थुप्रै उदाहरण छन् । तर, आगामी दिनमा त्यस्तो भेटिए जागिरै जान सक्छ,’ उनले भने।

पालिकाको वडा नम्बर २ मा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष थपलियाले शिक्षक, सरकारी जागिरे तथा राजनीति गर्ने सबैले आफ्ना छोराछोरी सरकारी विद्यालयमै अध्यापन गराउनुपर्नेमा पनि जोड दिए ।

आफ्ना छोराछोरी सरकारी विद्यालयमा अध्यापन गराए मात्रै सबैलाई विद्यालयप्रति माया र आफ्नोपन हुने भन्दै अध्यक्ष थपलियाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न सबैलाई अनुरोध गरे ।

उनले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक सुधार ल्याउन पालिका सहयोग गर्न तयार छ । तर, तपाईं शिक्षकले पहल गर्न जरुरी छ । शिक्षकले जिम्मेवारी पूरा गर्ने हो भने शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’

विद्यार्थीको भविष्य शिक्षकको हातमा भएको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए ।

‘लगानी पालिकाले गर्ने भए पनि पढ्ने विद्यार्थी र पढाउने शिक्षकले नै हो । वर्षभरि पढाएर मात्र पनि भएन । सिकाइ उपलब्धि पनि राम्रो हुनुप¥यो,’ उनले थप भने, ‘सिकाइ उपलब्धिमा अझै सुधार ल्याउन शिक्षकहरूले विशेष भूमिका खेल्नुपर्‍यो । स्वमूल्यांकन गरी सक्रिय बनेर सिकाइ उपलब्धिमा जोड दिए शैक्षिक सुधार गर्न सकिन्छ ।’

वडाभित्र सिकाइ उपलब्धि र शैक्षिक सुधार गर्न वडाले विशेष प्राथमिकता दिएको वडा नम्बर दुईका अध्यक्ष हेमराज भुजेलले बताए । ‘वडाभित्रका विद्यालयको शैक्षिक अवस्था नाजुक छ । चेपाङलगायत गरिब परिवारका बालबालिका अध्ययन गर्छन् । यो र त्यो बहानामा विद्यालयले शुल्क लिइरहेका छन् । त्यसैले बृहत् छलफल गरेर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । अब सिकाइ उपलब्धिमा वृद्धि गरी शैक्षिक गुणस्तर सुधार गर्नै पर्छ ।’

कार्यक्रमकै अवसरमा उत्कृष्ट विद्यालयको रूपमा रावलडाँडा आधारभूत विद्यालयलाई एक लाख नगदसहित सम्मान गरिएको थियो । साथै विभिन्न विद्यालयका विषयगत शिक्षकलाई पनि सम्मान गरिएको थियो । बेनीघाट रोराङ गाउँपालिकामा १६ वटा विद्यालय छन् ।

कमेन्ट गर्नुहोस्