
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महिलाका लागि निःशुल्क क्यान्सरकोे जाँच गर्न सुरू गरेको छ ।
महानगरले सोमबारदेखि महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थताको परीक्षण सुरु गरेको हो । पहिलो दिन राष्ट्रियसभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
सुरु भएकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावन रहन्छ । अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सकिन्छ ।
प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा महानगरपालिकाद्धारा आयोजन गरिएको वडास्तरीय निःशुल्क शिविरमा क्यान्सर भए नभएकोबारे जाँच गराउन महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अनुरोध गरेकी छिन् ।
‘हामी चाहन्छौँ, कसैले पनि उपाय नलाग्ने अवस्था (क्रोनिक) को क्यान्सरसँग जुध्न नपरोस् । यसकारण हामीले प्रजनन् उमेरका महिलाहरुमा क्यान्सर जाँचको शिविर राखेका हौँ’, डंगोलले भनिन्, ‘यो परीक्षण रोगका लक्षण देखिएपछि डाक्टरकोमा जाने खालको होइन । यसकारण प्रजनन् उमेरका सबै महिलाले यो विषयलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।’
स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जाँच प्रक्रियाबारे भनिन्, ‘शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण हुन्छ । यसपछि भिडियो एक्सरे हुन्छ । यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका चिन्ह देखियो भने मेमोग्राम गराइन्छ । यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ । यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ । ’
महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ ।
प्रजनन उमेर (३० बर्षदेखि ६० बर्ष) समूहका महिलाले हरेक ५ बर्षमा एकपटक स्वास्थ्यको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ ।
क्यान्सरको विश्वव्यापी अध्ययन २०२० को प्रतिवेदन उद्धृत गर्दै डा. लम्साल भन्छिन्, ‘नेपालमा हरेक दिन ४ जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मृत्युवरण गरिरहेका छन् ।’
डा. लम्सालका अनुसार ३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ भने एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु क्यान्सरको जोखिममा रहेका छन् ।
आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु भएको छ । बुधबार र बिहीबार गरी २ दिन वडा नं. ३१ भीमसेनगोलामा शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ ।
११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा शिविर सञ्चालन हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर सञ्चालनमा हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर सञ्चालन हुने तालिका छ ।