
कठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन ।
राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।
हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा मिथिला क्षेत्रका मठमन्दिर र देवालयमा पनि विशेष उत्सव आयोजना भएका छन् ।
रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।
भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ ।
महोत्तरीको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित रामजानकी मन्दिरसहित यहाँका बस्ती–बस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ ।
श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरू बताउँछन् ।
यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् ।
हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आइएको छ ।
शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ ।
चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।
आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।
आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।
धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।
रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थ भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिएका छन् भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गरेका छन् ।
यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिए । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उनले बताए ।
तीन दिन सञ्चालन भएको रामकथा पाठपारायणमा राष्ट्रिय कलाकारद्वारा झाँकी प्रदर्शन गरिएको थियो । यज्ञमा बिहान ७ देखि राति ११ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन, दैनिक पूजाअर्चना र मूल पाठपारायण गरिएको प्रचारप्रसार संयोजक रामु भण्डारीले जानकारी दिए ।
राम मन्दिरमा शास्त्रार्थ पहिलोपटक आयोजना भएको छ । अयोध्याका विषयमा पुनःजागरण ल्याउन शास्त्रार्थ आयोजना गरिएको अनुसन्धाता पौडेलले बताए ।
पाण्डव मन्दिर, द्रौपदी कुवा (भीम कुवा)लगायत प्राचीन संरचना माडीमा छन् ।