बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि, मेलाको तयारी पूरा

Share:

काठमाडौँ । वैशाख ११ गतेदेखि काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला सुरु हुन भएको छ ।

आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले आज एक कार्यक्रम आयोजना गरी मेलाको तयारीका बारेमा जानकारी दिएका हुन् ।

यसअघि बालाजु उद्यान कार्यालयले मेला व्यवस्थापन गर्दै आएको थियो । यसवर्षदेखि मेला व्यवस्थापन समिति निर्माण गरी उक्त मेलाको तयारी भएको हो ।

मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको प्रजापतिले बताए ।

बालाजु बाइसधारामा गई स्नान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । ‘मेलाका समयमा कुनैपनि घटना नघटोस् भन्ने उद्देश्यले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्न लागेका छौँ’, उनले भने ।

ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले विगतका अनुभवलाई हेरेर ट्राफिक व्यवस्थापन चुस्त तथा दुरुस्त पारिएको जानकारी दिए ।

बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतका अनुसार उक्त मेला लागि भनेर बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको छ ।

पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा जात्रासमेत लाग्ने गर्दछ ।

तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँच वटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले बताए ।

उक्त मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकले अपेक्षा गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं १६ ले मेलाको व्यवस्थापनका लागि आर्थिक सहयोग पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्