गाँजाको बोरा बोकेर हिँड्दै गरेका सातजना पक्राउ

Share:

मकवानपुर । अवैध गाँजासहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट १५० किलो गाँजासहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका–३ हाँडीखोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजाको बोरा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो ।

उक्त जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्