पर्वत । कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् ।
मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् । विद्यालयमा पढाइ हुनेभन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूललगायत मौसमअनुसारका अन्न उत्पादनतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सञ्चालन गरेको छ भने पैंयु गाउँपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुईवटा विद्यालय छनोट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन् । मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लागि चालु आवमा रु दुई लाख विनियोजन गरेको छ ।
उक्त कार्यक्रममा छनोट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिइन् । उनले यो कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा बाली लगाउन सिक्ने र बाबुआमालाई कृषि कर्ममा सघाउने विश्वास व्यक्त गरिन् । विद्यार्थीहरूले लगाएको तरकारी, फलफूलबाट हुने आम्दानी विद्यार्थीलाई नै दिइने भएकाले पढाइ खर्चमा टेवा पुग्ने शर्माले बताइन् ।
पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रमअन्तर्गत गाउँपालिका–७ भोर्लेमा रहेको जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको रु एक लाख ५० हजार लगानीमा यो कार्यक्रम थालिएको हो । यस कार्यक्रममा सम्बन्धित विद्यालयले कूल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ ।
विद्यार्थीलाई बिहान, दिउँसो, साँझ पढाइको अतिरिक्त समयलाई व्यवस्थापन गरेर करेसाबारीमा काम गर्न लगाइने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बताइन् ।