तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

Share:

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ । पहिलो चरण अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ ।

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।

खानीखोला गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले हाल जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आर्थिक वर्षमा रु २ करोड विनियोजन गरेको थियो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने, ‘ उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको छ ।’

उनी भन्छन्, ‘ तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको छ ।’ साथै हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको उनले बताए ।

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ । तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा समेत थप छलफल भइरहेको उनले जानकारी दिए।

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ ।

कमेन्ट गर्नुहोस्