
पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।
सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिकामा भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आइरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गरे ।
उनले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद् रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन् ।
संघीय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताए ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समिति संघीय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोलीले स्थानीय तहसित अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रियामा प्रतिनिधिसभा सदस्यहरु रामकृष्ण यादव, अमरेशकुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिमिल्सिना, प्रभु हजरा, बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरिक्षक कुमोध ढुङ्गेललगायतको सहभागिता रहेको थियो ।