बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले २०८२ असोजमा सक्नेगरी पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्दै छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो
।
सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याए लगत्तै यस वर्ष आधारभूत अस्पताल बनाउन थालेको हो ।
पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था छैनन् ।
अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानु पर्ने बाध्यता रहेको त्यहाँका स्थानीयले बताए ।
गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा रहेका छन् । गाविसमा एक–एकवटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
टाढाका गाउँलेलाई लक्ष्यित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए ।
विकका अनुसार गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भएकाे थियो ।
सेवाको गुणस्तर बढाउन र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पतालकाे निर्माण प्रारम्भ गरिएको होे ।
पछिल्लो पाँच वर्षमा वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा छन् ।