काठमाडौं । तेस्रो त्रेमासिकमा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफामा गिरावट आएको छ ।
बैंकहरूमा लगानीयोग्य पुँजी भए पनि कर्जा प्रवाह नहुँदा र प्रवाह भएको कर्जाबाट पनि साँवा ब्याज समयमा नउठ्दा बैंकहरुको वितरणयोग्य नाफामा कमी आएको हो ।
खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च बढेसँगै वाणिज्य बैंकहरुको वितरणयोग्य नाफामा कमी आएको हो ।
चालु आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको छ । जसमा हिमालयन, नेपाल इन्भेष्टमेन्ट, कुमारी, एनआईसी एसिया, लक्ष्मी सनराइज, एनएमबि, ग्लोबल आईएमई र माछापुच्छ्रे बैंक रहेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कृषि विकास बैंकले गत वर्षको तुलनामा करिब ९७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ। नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ भने नेपाल बैंक लिमिटेडको नाफा ९२ प्रतिशतले घटेको छ।
स्टाण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा ऋणात्मक भएको छ। यस्तै एभरेष्ट बैंकको खराब कर्जा ०.७ प्रतिशतभन्दा माथि नगएकाले उसको वित्तीय विवरण राम्रो देखिएको छ। सिटिजन्स इन्टरनेशल बैंक र प्राइम कमर्सियल बैंकले आफ्नो वित्तीय विवरणमा सुधारको प्रयास गरेका छन्।
एनआईसी एसिया बैंकको खुद नाफा ५५ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ५ अर्ब बढीले ऋणात्मक भएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड र हिमालयन बैंकको ५ अर्ब २६ करोडले ऋणात्मक रहेको छ।
यस अवधिमा एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै २ अर्ब ७५ करोड रहेको छ। यस्तै नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड र स्टाण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।