काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे ।
महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटीसहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेस हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठक भोलिसम्म सञ्चालन हुनेछ ।
वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ ।