पछिल्लो ९ महिनामा बाँकेका २६५ घरेलु उद्योग भए बन्द

Share:

बाँके । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा २६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका १६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढि रहेका छन् ।

१०५ उद्योगतर्फ र १६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् ।

बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका थिए ।

यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् ।

यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ ४३४ र वाणिज्यतर्फ ३७३ गरी ८०७ घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए ।

बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६३१ र वाणिज्य फार्म ११५० गरी १७८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् ।

कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलताजस्ता कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काल बताए ।

उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका हुन् ।

कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् ।

कमेन्ट गर्नुहोस्