
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान वैशाख ६ गते १० दिनको चीन भ्रमणमा निस्किएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा स्थानीय सरकार प्रमुखको हैसियत गएको भनेर प्रचार गरे पनि उनी पार्टीगत तहबाट भ्रमण गएको पालिकाका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।
माओवादी केन्द्रमा आवद्व चुमान केन्द्रीय नेतृत्व तहसँगै पार्टीको प्रतिनिधित्व गर्दै चीन भ्रमणमा गएका हुन् । पालिकाको जिम्मेवारी उपाध्यक्ष दुर्गा अर्याललाई सुम्पिएर उनी चीनतिर लागेका हुन् ।
पार्टीको निमन्त्रणमा चुमान १० दिनसम्म चीनमा रहने छन् । पछिल्लो समय पालिकाका प्रमुखहरुको विदेश भ्रमण मोह बढ्दै गएको छ ।
पालिकाको लागि काम गर्ने भन्दा विदेश भ्रमणमा निस्कन पालिका प्रमुखहरुले प्राथमिता दिन थालेका छन् ।
भ्रमण पार्टीगत भएका कारण पालिकाको लागि उनको यो भ्रमणले खासै अर्थ नराख्ने देखिन्छ । यसअघि पालिकाको शिक्षा सुधार गर्न भन्दै स्थानीय सरकारको नेतृत्व गरेर अध्यक्ष चुमानसहितको पालिकाको टोली ‘केजरीवाल मोडेल’को शिक्षा हेर्न भारतको दिल्ली गएको थियो ।
छिमेकी देश भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विगत करिब एक देशकदेखि ल्याएको परिवर्तन ‘केजरीवाल मोडेल’ले प्रख्यात छ । उनले एक दशकमा सार्वजनिक विद्यालयको शिक्षामा आमुल परिवर्तन ल्याएका छन् । उनले शिक्षालाई समान र सर्वसुलभ पनि बनाएका छन् ।
अध्यक्ष चुमानको टोलीले त्यही मोडेल अध्ययन गरेर आफ्नो पालिकामा शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउने बताएका थिए ।