काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ ।
महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि तालिम आयोजना गरिएको हो ।
पछिल्लाे समयमा सर्ने भन्दा नसर्ने खालका रोगले धेरै मानिसहरु पिडित छन् । गएको बर्षको अङ्क हेर्दा काठमाडौँ महानगरपालिका अस्पतालहरुमा उपचारका लागि गएका २ लाख ९७ हजार ९०९ जना नसर्ने खालको रोगसँग सम्बन्धित थिए ।
महानगरपालिका भित्रका अस्पतालहरु (सरकारी, सामुदायिक, निजी), स्वास्थ्य केन्द्रहरुमा गएको ६ महिनाभित्र उपचारका लागि गएका बिरामीहरुको संख्या हेर्दा सबैभन्दा धेरै मधुमेह (२१ हजार ४३५ जना) का बिरामी छन् ।
यसपछि हाइपर टेन्सनका बिरामीको संख्या ३१ हजार ३०८ जना, दाँत सम्बन्धी समस्या भएका विरामीको संख्या १८ हजार १७७, श्वाश प्रश्वास सम्बन्धी समस्या भएका विरामी १८ हजार १५ जना, टाउको दुखाइ भएका बिरामी १६ हजार ७३५ जना, दाँतको दुखाइ भएका बिरामीको संख्या १६ हजार १३४ जना, पेटको समस्या भएका १४ हजार ८८५ जना, निमोनिया भएका १३ हजार ४३० जना थियो ।
सर्ने रोगहरुमा डेङ्गीका बिरामीको संख्या १४ हजार ९७५ जना रहेको थियो ।
प्रशिक्षक डा. मिलन मल्ल भन्छन् , ‘तालिम पूरा ४ कार्य दिनको हो । पहिलो दिन नसर्ने रोगको भार र जोखिम तत्वहरु, प्राथमिक स्वास्थ्य अवधारणामा नसर्ने खालका रोगको परिचयात्मक कक्षा हुन्छ । दोस्रो दिन, आहारबिहार सुधार, धुमपान तथा मद्यपान त्याग गर्नका आवश्यक आचरण, शारीरिक क्रियाकलाप र परामर्श सीप सम्बन्धी कक्षा हुनेछ ।’
डा. मल्लका अनुसार तेस्रो दिन प्राथमिक स्वास्थ्य सेवामा मुटु तथा रक्तनलीका रोग, मधुमेह, श्वाशप्रश्वास सम्बन्धी रोग, छाती र फोक्सोको व्यायाम, प्रोटोकलअनुसारको केस व्यवस्थापन अभ्यास हुनेछ । चौथो दिन, सामुहिक सहयोग, सञ्चार र प्रेषण (रेफर), समुदाय परिचालन र सहभागिता, अभिलेखन र प्रतिवेदन सम्बन्धी कक्षा सञ्चालन हुनेछ ।
एक व्यक्तिवाट अर्को व्यक्तिमा नसर्ने, सुक्ष्म जीवाणु नभएका र दीर्घ रोगलाई नसर्ने खालका रोगको प्रकृतिमा राखिएको छ । यस्ता समस्याले विस्तारै असर बढाउँछन् । विश्वव्यापी रुपमा हेर्दा मुटु र रक्तनलीको रोग, मधुमेह, दीर्घ श्वाश प्रश्वास सम्बन्धी रोग, क्यान्सरहरुमा स्तन र पाठेघरको मुखको क्यान्सर मुख्य समस्याका रुपमा वृद्धि भइरहेका छन् ।
मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनले यस्ता समस्या बढ्दै गएका हुन् । एनसीडीआइको तथ्याङ्कअनुसार विरामी, अपाङ्गता वा अल्पायुमै हुने मृत्युका कारणमा नसर्ने रोगको योगदान ५१ प्रतिशत छ । उपचार खर्चको अभावमा विकासोन्मुख देशका धेरै मानिसहरु रोगको उपचारको पहुँच बाहिर छन् ।
विश्वमा वर्षेनी करिब ४ करोड १० लाख जना मानिसको मृत्युको कारण यस्तै खालका नसर्ने रोगहरु भएको, तालिमका प्रशिक्षक डा. सुलभ आचार्यको भनाइ छ ।
जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार, असार मसान्तभित्रमा ७५ जना स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यक्रम छ । एउटा समूहमा २५ जना राखेर २ समूहमा तालिम दिइनेछ । यसबाट नसर्ने रोगका विरुद्धका कार्यक्रममा प्रभावकारिता बढ्ने अपेक्षा राखिएको, मास्केले जानकारी दिनुभयो ।