भ्रष्टाचारबाट सफाइ पाएपछि अर्थसचिवमा फर्किए मरासिनी

Share:

काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।

विशेष अदालतकाे आदेशबाट निलम्बनमा परेका सचिव मधुकुमार मरासिनीलाई गएकाे माघ २८ गते साधारण तारिखमा रिहा भएका थिए । न्यायाधीशहरु डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेट–वे)को भ्रष्टाचार मुद्दामा परेका उनलाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियाे ।

सरकारको नीति तथा कार्यक्रममा समावेश नै नभएको अनि राष्ट्रिय सूचना प्रविधि केन्द्रले नै माग नगरेको विषयमा अर्थमन्त्रालयको बजेट प्रणालीमा कार्यक्रम इन्ट्री गरेर रकम भुक्तानी गरेको भनी मरासिनी लगायतविरुद्ध १५ असोज, २०८० मा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियारले बजेट निकासका लागि लागि अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मधु मरासिनीलाई जिम्मेवार भएको आरोप लगाएको थियो ।

अख्तियारको दावीमा, त्यतिबेलासम्म नेशनल पेमेन्ट गेट–वेका लागि गर्नुपर्ने नियमित चरणका काम भएका थिएन । आवश्यक कागजात समावेश भएको थिएन । आफू मातहत र माथिल्लो निकायका अधिकारीलाई थाह नदिई २५ करोड रुपैंया विनियोजन गरेको आरोप मरासिनीमाथि थियो ।

विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ गएकाे वैशाख ७ गते सफाई दिएको हो ।

कमेन्ट गर्नुहोस्