पर्सा । चौधरी ग्रुपले पर्साको चोनीमा उद्योग खोल्ने तयारी गरेको निक्कै समय भएको छ । तर जग्गाको विषयलाई लिएर एकजना स्थानीयबासी रामआशिष पासवानले अवरोध खडा गरेका छन् । चौधरी समूहले त्यहाँ उद्योग खोल्ने भएपछि आफ्नो जग्गा बिकाउने तयारीमा रहेका पासवानको जग्गा चौधरी समूहले खरिद गरेन । त्यसपछि पासवान चौधरी समूहविरुद्व उजुरी दिन गएपछि नयाँ समस्या खडा भएको हो ।
पासवानले आफ्नो जग्गाको मूल्य चलनचल्तीको भन्दा धेरै गरेपछि उनको जग्गा चौधरी समूहले खरिद नगर्ने निर्णय लियो । त्यसपछि अन्तै खरिद गरेको जग्गाको विषयलाई लिएर पासवान उक्त खरिद गरेको जग्गा सरकारी भएको भन्दै उजुरी गर्न गएका गए ।
जग्गासँगै जोडिएको जमिन सिजी लजिस्टिक पार्क खोल्न चौधरी समूहले खरिद गरेपछि पासवान झन रुष्ट भएका हुन् ।
‘पासवानले महंगोमा जमिन बेच्न चाहेका थिए । चलनचल्तीभन्दा दोब्बर मूल्यमा जमिन कसले किन्छ र ?’, स्थानीय अखिलेशकुमार यादवले भने, ‘त्यो जग्गा किनिदिएको भए यो उजुरीसुजुरी केही हुन्थेन । जग्गा नकिनिदिएपछि उसले यो सबै फट्याइँ गरेको हो ।’
वीरगञ्ज महानरगपालिका वडा नं. ३२ (साविकको चोनी गाविस वडा नं ५) का स्थानीयबासी पासवानविरुद्ध त्यहाँका अन्य स्थानीय नै आक्रोशित भएका छन् । पासवानकै कारण उद्योग नखुल्ने हो कि भन्ने चिन्ता स्थानीयले गर्न थालेका छन् ।
‘गाउँमा उद्योग आउने भयो भनेर हामी खुसी थियौं । हामीले त रोजगारी पनि पाउँथ्यौ नि । तर यो फटाहाका कारण उद्योग नै नआउला कि भन्ने भयो । यसलाई त समाजिक बहिष्कार गर्नुपर्ने भयो’, अर्का स्थानीय शम्भु महतोले भने, ‘उसले आफ्नो जग्गा बेच्न खोजेको थियो । चौधरी ग्रुरुपले किनेन । त्यसपछि उसले चौधरी ग्रुपलाई बद्नाम गर्न यो सबै कर्तुत गरेको हो ।’
स्थानीयका अनुसार चौधरी समूहले खरिद गरेको जग्गा सार्वजनिक हैन । पासवानले उक्त ठाउँ मसानघाट भएको बताएका छन् । स्थानीयबासीहरु उक्त ठाउँ मसानघाट नभएको दाबी गर्छन् ।
स्थानीयबासी शम्भु महतो भन्छन्, ‘पासवानले भनेको मसानघाट पर्सा जिल्लामा नै पर्दैन । त्यो त बारा जिल्लामा कियासोत खोला पारी पर्छ ।’
पासवानको आरोपपछि पर्साको मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत जग्गाको अवस्थाका बारेमा अध्ययन गरेको छ । फिल्ड बुकको रेकर्ड र फिल्डमै पुगेर पनि कार्यालयले वास्तविकता हेरिसकेको छ । कार्यालयहरुले आरोप लगाएजस्तो केही नभेटिएको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत गलत विवरण दिएकाे आराेपमा रामआशिष पासवान र सम्बन्धितहरुलाई कारबाहीकाे तयारी गरेकाे प्रशासनले जनाएकाे छ ।