काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।
मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।
यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् ।
“मुलुक भित्रै अवसरमा नपाएर युवाहरु विदेसिन्छन्। बिदेसिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौ’, उनले भने, ‘कम्तिमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस ।’
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
श्रमिकहरुलाई खाना खुवाउने विषयमा आफूहरु गम्भीर रहेकाे व्यवसायीहरुले बताए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्ने व्यवसायीहरुकाे तर्क थियाे ।
नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् ।
यी मुलुकहरुमा विभिन्न एयरलाईन्सले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका जहाज कम्पनीहरु हुन् ।
हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन् । त्यस्तै, नेपाल देखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।
सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् ।
युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् ।
कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् ।
तर, नेपाल एयरलाइन्सलगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।
छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।