
एजेन्सी । जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसअघि केजरीवालले जमानत पाउन सुगर भएको झुटाे विवरण बताएकाे आराेप केही नेताहरुले लगाएका थिए । केजरिवालले आफूलाई सुगर भएकाे र त्यसकाे लागि अस्पतालका डाक्टरसँग काउन्सिलिङ गर्न पाउनुपर्ने माग राखेका थिए । आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले केजरीवाललाई जेलमा इन्सुलिन दिएको जानकारी दिँदै मुख्यमन्त्रीकाे माग सही भएको प्रमाणित गरे।
जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिन दिइएको बताएको छ । सोमबार साँझ केजरीवालको सुगरको तह २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।
यसअघि सीएम केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च सुगर भएपनि इन्सुलिन नपाएको बताएका थिए ।
यसअघि सोमबार केजरीवालले आफ्नो स्वास्थ्य परिक्षण गर्न हरेक दिन १५ मिनेट डाक्टरसँग परामर्शको अनुमति मागे पनि अदालतले सो अनुमति दिन अस्वीकार गरेको थियो । त्यस्तै प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवालले सुगरको लेभल बढाउन र जमानत पाउन जेलमा आप र मिठाइ खाइरहेको आरोप लगाएको थियो ।
केजरीवाललाई मदिरा नीतिमा कथित घोटालाको आरोपमा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।