
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।
काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ ।
उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।
प्रायः भीभीआईपीको नेपाल भ्रमण हुँदा सरकारका तर्फबाट सजिसजावटमा ब्यापक खर्च गर्ने प्रचलन छ । कतारका राजाको भ्रमणमा पनि यो सजावट भएको छ । तर केही वर्षअघि चीनका राष्ट्रपति सीजीनफीन आएजस्तो धेरै पर्चाहरु भने सडकमा टाँगिएको छैन् । तर लाज ढाक्न सरकारले हतारहतारमा सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । त्यस्तै सडक बढार्ने चटारोमा कर्मचारीहरु देखिन्छन् । ट्राफिक प्रहरीहरु सडककै भरी कामको तयारीमा व्यस्त देखिएका छन् ।
कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ आउँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् । उनको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उनलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उनलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।
विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
हेर्नुस तस्बिरहरु :
