काठमाडौँमा फोहर व्यवस्थापनका लागि समूहगत अभिमुखीकरणकाे सुरुवात

Share:

काठमाडौँ । सामुदायिक विद्यालयहरुमा फोहरका स्रोत घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याउने भएको छ ।

कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वाबा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय शिक्षकमध्ये एकजना, वाबा समूहका विद्यार्थी क्याप्टेन र सरसफाइ कर्मचारीलाई अभिमुखीकरणमा बोलाइएको छ ।

विद्यालयको सफाइसँग सम्बन्ध राख्ने पदाधिकारी तथा व्यक्तिका बिचमा समान धारणा बनाउन शिक्षक, कर्मचारी र विद्यार्थीलाई एउटै समूहमा राखिएको हो ।

एक समूहमा २२ वटा विद्यालयबाट ६६ जना रहनेछन् । एक समूहका लागि एक दिन कार्यक्रम हुनेछ । कक्षामा फोहरमैलाको प्रकृति र वर्गीकरण, वातावरण प्रदुषण र विपद व्यवस्थापनको सैद्धान्तिक कक्षा हुनेछ । कम्पोष्टिङ्को भने प्रयोगात्मक एवं प्रदर्शनमा आधारित कक्षा हुनेछ ।

विद्यालय परिसरमा धेरै फोहर उत्पादन हुने ठाउँ, फोहरका स्रोत, स्रोतमा फोहर घटाउने आचरण, फोहर वर्गीकरण, जैविक र अजैविक फोहर वर्गीकरणको सिद्धान्तका बारेमा बुझाउनु अभिमुखीकरण कार्यक्रमको उद्देश्य हो ।

वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्छन्, ‘विद्यालयमा थालिएको कार्यक्रम समाजमा विस्तार हुन्छ । यसले बालबालिकालाई त सफाइ आचरण सिकाउँछ नै, यससँगै अभिभावकहरुमा पनि सन्देश प्रवाह हुन्छ । बालबालिकाका कारण अभिभावक पनि काम गर्न बाध्य हुने वातावरण बन्छ ।’

विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ४ कार्य दिनभित्रमा अभिमुखीकरणसँगै जैविक फोहर व्यवस्थापन गर्ने प्रणाली पनि प्रदान गरिनेछ । अभिमुखीकरण सहभागीले विद्यालयमा फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्छ ।

महानगरपालिकाले उपलब्ध गराउन लागेको विधि कम्पोष्टि विधि हो । विद्यालयमा उत्पादन हुने जैविक फोहरलाई कम्पोष्ट मल बनाउन मिल्छ । अजैविक फोहर विक्री गर्न सकिन्छ । यति मात्र गर्न सकियो भने कुनै पनि विद्यालयबाट फोहोर वाहिर निकाल्नु पर्दैन ।

कमेन्ट गर्नुहोस्